Image may contain: 2 people, people standingडिवी श्रेष्ठ
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमण (कोभिड १९) ले नेपाल र नेपालीलाई पनि प्रभावित गरिरहेको छ । जसको नियन्त्रण गर्नका लागि नेपाल सरकारले हालैका दिनहरूमा लिएका कदमहरू स्वागतयोग्य छन् । यस कोरोना भाइरसले मुख्यगरी चीन, इटाली र फ्रान्समा नराम्ररी मानवीय क्षति पुरयाएको छ भने विश्वका धेरै देशहरुमा यसको संक्रमण भेटिएको पुष्टि भएको छ ।
पछिल्लो समयमा हाम्रो देश नेपालमा पनि तीनजना संक्रमित व्यक्ति भएको जानकारी आएको छ । त्यसैले नेपालमा बस्ने सम्पूर्ण नागरिकहरुले पनि यसप्रति चासो र सतर्कता देखाउनु नितान्त जरुरी छ । नेपाल सरकारले नागरिकको हकमा जारी गरेको लक डाउन अर्थात् कफुर्यलाई पूर्णरुपमा पालना गर्नु भनेको संक्रमण फैलिन नदिनु नै हो । जुन कुरा हरेक नागरिकले अनिवार्य मनन, स्वीकार र पालना गर्नैपर्छ ।
हाम्रो देशमा संक्रमितहरुका लागि चाहिने सघन उपचार केन्द्र, भेन्टिलेटरको उपलब्धता अत्यन्त दयनीय अवस्थामा छ । त्यसैले कोरोना भाइरसविरुद्ध लड्न हामीसँग कफ्र्यु र आत्मविश्वास बाहेक अरु सशक्त विकल्प छँदै छैन । यसलाई निर्मूल पार्न विनाकाममा मानवीय आवतजावत र भिडभाडलाई रोक्नुपर्छ भने आवश्यक परेको खण्डमा सावधानी अपनाउँदै मानवीय भौतिक दुरी अनिवार्य कायम राख्नुपर्छ । जुन कुरा हामी नागरिकले बुझ्नैपर्छ र पालना गर्नैपर्छ ।
माथि उल्लेखित कुराहरु हृदयङ्गम गर्दै मनस्थिति दह्रो बनाऔं । यसले मानिसभित्र एक प्रकारको आत्मबल बढाउन सहयोग गर्दछ । जसले बाह्य परिस्थिति अर्थात् कोरोना जस्तो चुनौतीपूर्ण संक्रमणविरुद्ध सहजै लड्न र विजय हासिल गर्न आन्तरिक रुपले थप सक्षम बनाउँछ ।
कोरोनासग नडराऔं । पश्चिमा देशको तथ्यांकअनुसार ९८ प्रतिशतभन्दा बढी संक्रमितहरु क्वारेन्टाइनमा नै बसेर ठीक भएको उदाहरणहरु प्रशस्त छन् । इमान्दारिताका साथ सतर्कता अपनाऔं । क्वारेन्टाइनमा बस्ने तरिकाको सम्बन्धमा अरुलाई पनि सिकाऔं । हाम्रो सामूहिक प्रयासबाट आ– आफ्नो घरको क्वारेन्टाइनमा बसेर कोरोनालाई फैलिनबाट रोकौं ।
कुनैपनि जीवाणुको संक्रमणले केही मान्छेहरु मर्न सक्छन् । जुन हामीले स्वभाविक रुपमा लिन सक्नुपर्छ । हुन त जाडो मौसममा पनि रुघाखोकीको कारणले मान्छेहरु मरेका हुन्छन् । मात्र यति हो कि हामीसँग यसको जानकारी हुँदैन । कोरोनाको हकमा संक्रमण देखुन्जेलसम्म अर्थात् नियन्त्रणमा नआउन्जेलसम्म सम्भवतः नियमित कफर्यु हुनु जायज छ तर यसले ल्याउने सामाजिक तथा आर्थिक चुनौतीका बारेमा तपाई हाम्रो सरकार, जन प्रतिनिधि, राजनैतिक दल, टोल टोलका अगुवा, पत्रकार, रोजगारदाता कम्पनी, व्यवसायी तथा नागरिक समाजका अगुवाहरुको पनि भूमिका कुनै न कुनै रुपमा अनिवार्य देखिनुपर्छ । जुन संकटको घडीमा साहस बटुल्दै समन्वयकारी भूमिका निर्वाह गर्नु तपाई हाम्रो राष्ट्रप्रतिको निःशर्त जिम्मेवारी पनि हो ।
हुँदा खाने अर्थात् दैनिक ज्यालादारीमा आफनो र परिवारको जीवन निर्वाह गर्ने न्यून आय भएकाहरूका लागि राज्यले तुरून्तै विशेष आर्थिक प्याकेजको घोषणा गर्नुपर्छ । अन्यथा उनीहरूले रोगबाट बच्न खोज्दा भोक स्वीकार्नु पर्ने स्थिति आएमा आफैंमा डरलाग्दो हुन जान्छ । राज्यले यस्तो दोहोरो प्रतिकुल परिस्थितिको सामना गर्नु नपरोस् भन्ने कामना हामी सम्पूर्ण नागरिकहरुले गरौं । हामी सम्पूर्ण नागरिकहरुले के बुझ्नु जरुरी छ भने राज्यद्वारा लगाइएको कफर्यु हाम्रै जीवनको लागि हो । जीवन हाम्रो अस्तित्व हो । यो छ र न हामी खुशी छौं । त्यसैले कफ्र्युलाई नकारात्मकरूपमा नबुझौं । यतिबेला हामीले उच्च त्याग देखाउने समय हो । त्रेतायुगमा महामानव श्री रामले चौध वर्ष बनवासमा आफ्नो जीवन व्यतित गरे भने कलियुगमा भने हामीले किन नसक्ने ? आखिर चौध हप्ता पनि होइन । त्यसैले एक पटक प्राप्त भएको अमूल्य जीवन कायम राख्न क्वारेन्टाइनमा बस्न बसौं र अरुलाई पनि बस्न लगाऔं ।
सामाजिक सञ्जाललगायत अन्य माध्यमबाट समाजलाई भयभित नबनाऔं । यो संकटको घडीबाट पार पाउन संयमित हुँदै सकारात्मक सोचका साथ एक भएर अघि बढौं । मनैबाट सतर्कतालाई सभ्य बनाऔं । डाक्टर, नर्स र सुरक्षाकर्मीहरुको जिम्मेवारीतालाई सम्मान गरौं । अनि हामी पनि जिम्मेवार बनौं । नेपालीको जय होस् । नेपालको जय होस् ।
लेखकः धरानका निजी शिक्षालयका अध्यापक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here