धरानः धरान बिजुलीका तारले गर्दा पनि हेरिनसक्नु अवस्थाको छ । स्माट बन्ने रहर गर्ने धरान शहरको जताततै लत्रिएको बिजुलीको तार नै चुनौती बनिरहेको अवस्था छ । स्मार्ट बन्ने हल्ला चलिरहेको धरानका लागि बिजुलीको पोल र झुण्डिएको तारहरू नै चुनौतीका रूपमा उभिएको महसुस सबैले गर्दै आएका छन् ।
तपाई धरानका सडकमा पैदल हिँड्दा कतिको सुरक्षित महसुस गर्नुहुन्छ ? महसुस गर्नेलाई थाहा भइहाल्छ हामी ‘डेञ्जर जोन’ मा छौं भनेर । धरानका महत्वपूर्ण कतिपय ठाउँहरू यस्ता छन् जहाँ जुनसुकै बेला खतराको सामना गर्नुपर्ने हुन्छ । भौतिक होस् वा मनोवैज्ञानिक हिसाबले होस् जोखिमयुक्त बाटोमा हामी दैनिक ओहोदोहोर साथै सबैलाई आ–आफ्नो गन्तव्यमा पुग्ने हतारो हुन्छ । अहिले पनि बिजुली अलपत्र र असरल्ल तारहरुले धरानको सुन्दरतालाई जिस्काइरहेको भान हुन थालेको छ ।
पैदल हिँड्ने कतिपय यात्रुले यो समस्या देखेका पनि छन् । साथै स्थानीयले पनि देखेका छन् तर न त स्थानीय यो समस्याप्रति चनाखो छन् न त सम्बन्धित निकाय नै । धरानका अधिकाङ्श बिजुलीको तार लर्किएका, लत्रिएका छन् । बिजुली, केवल, नेटका तारहरू यत्रतत्र छरिएका छन् । सर्वसाधारणलाई दुर्घटनामा परिने हो कि भन्ने चिन्ता बढेको छ ।
अब लत्रिएका, झुन्डिएका तार भने व्यवस्थित हुने भएको छ । धरान–९ ले यो अभियान अगाडि बढाउने भएको छ । ‘काम नलाग्ने तार व्यवस्थापन मात्रै गर्ने हो भने पनि पोलको भार कम हुने हुन्छ’, उनले भने, ‘त्यसतर्फ हाम्रो वडा नं. ले चाहिँ ध्यान दिएको हो ।’
वडाकै खर्च र एकमुष्ठ बनाइने वडाध्यक्ष रत्नबहादुर कटुवालले जानकारी दिए । उनले तारलाई व्यवस्थित गर्दै झुन्डिएकालाई काटेर फालिदिने, युजलेस तार पनि काटेर फालिदिने बताए । ‘बाँकी तारलाई तारले बाँधेर एकमुठा नै बनाइदिन्छौं । सोमबारदेखि काम शुरु गरेर एकमुठा बनाइदिनेसम्म काम गर्नेछौं’, उनले भने, ‘यसो गर्न सकियो भने राम्रो पनि देखिन्छ, लथालिङ्गे, भताभुङ्गे धरान त देखिने भएन नि ।’
धरान उपमहानगरपालिकामै रहेको मेनपावर, जनप्रतिनिधि, टोलबासी लागेर तार व्यवस्थित गर्न लागिएको उनले जानकारी दिए । यसअघि केवलका तारलाई मंसिर अन्तिमतिर हटाइदिनुपरयो भनेर भनिसकेको उनले बताए । ‘दुर्घटना पनि हुनसक्छ, हेर्दा पनि डरमर्दो र लाजमर्दो पनि छ, त्यही भएर केवल सञ्चालकलाई मौखिक, लिखित र बैठक समेत बोलाएर हटाउनु भनिसकेका छौं ।’ उनले भने, ‘१५ दिनेमा हटाइदिने भनेर लिखित पनि भइसकेको छ ।’ उनले भने ।
धरान–१२ मा अझै तारको भार
एउटै पोलमा बिजुली, इन्टरनेट, टेलिफोन र केवल टिभीको तार लत्रिएका छन् धरान–१२ महेन्द्रपथमा । भार थेग्न नसकेर पोल नै ढल्ने अवस्थाका पनि छन् । लठिभद्र ती तारले सहरको सौन्दर्य बिगारिरहेको छ । इन्टरनेट सेवाप्रदायक संस्थाले आफूखुशी पोलमा तार झुन्डयाइरहेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here