शेखरनाथ जोगी शुक्रबार बिहानै धरानको भानुचोक पुगें, वस्तुस्थिति नियालें । अधिकांशमा घर फिर्ने हतारो थियो । कुनै सार्वजनिक यातायातका साधन खाली देखिएन । सबैमा भीडभाड । एउटा भरिनेबित्तिकै अर्को दगुरिहाल्ने । कोही पहाडी भेगबाटै विशेष कामले तराई झरेका जस्ता देखिने, कोही नानी च्यापेर हिँड्दै गरेका त कोही परदेशबाट कुम्लो कुटुरो च्यापेर फर्किएका जस्ता । केही साथीहरूसँग धेरैबेर भानुचोकमै गफियौं, गतिविधि हेरयौं । साथीले भने– होइन कोरोनाकै सन्त्रास हो यो कि यो के हो ? अधिकांश साथी अक्क न बक्क बने । केही साथीको हँस्यौली तर्क पनि थियो–यसले मानिसलाई स्वस्थ बनाउँछ, गाउँ पुगेर हरिया सागसब्जी, अर्गानिक खानेकुरा खान पाउँछन्, यहाँ सहरमा फुर्सद नपाएर वाक्क बनेका आफ्ना छोराछोरी झनै स्वस्थ बन्छन्, गाउँ पुगेपछि कोरोनाले छुँदैन अर्थात् हत्तपत्त सङ्क्रमण हुँदैन, गाउँमै उकाली ओराली गर्छन्, नानीहरूले राम्रो कुरा सिक्छन्, जस्तैः हलो समाउने, बारीमा तरकारी गोड्ने, ढिँडो–रोटो खाने, गाइवस्तु चराउने अनि गाउँले रहनसहन थाहा पाउने । केहीको तर्क थियो–नेपालीले बढी कोरोनाका कारणका कारण भन्दा पनि हल्लाकै कारणले दुःख पाए ।
गाउँ फर्किएर राम्रो सिक्लान् अर्को पाटो तर त्यहाँको कारणले अर्को चिन्ता पनि थपियो– सरकारले कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर अत्यावश्यक कामबाहेक ठूला सभा, सम्मेलन नगर्न तथा भीडभाडमा जाँदा सचेतना अपनाउन आग्रह गरेको छ नै तर पनि यस्तो भीडभाड मनमा खुल्दुली लागिरह्यो । कोरोना नसरोस् भनेर गाउँको खुल्ला ठाउँमा पुग्नु छ, मानिसहरू भीडभाडमै रहँदै गाउँ छिर्छन्, गाउँ पनि सुरक्षित रहला त ? होइन भीडभाडमा नबस्नु भन्ने छ तर सार्वजनिक सवारीमै यस्तो भीडभाड ? भीडभाडमा मानिसलाई नजान भनेर भनिएपनि जनचेतना अभाव, बाध्यता वा अन्य केही ठानें । अहिले देशभरका सहरबाट गृहक्षेत्र अर्थात् पुख्र्यौली थलो प्रवेश गर्ने बढ्दै गएका छन्, सुरक्षित रहनु राम्रो कुरा हो तर यतिका भीडभाडमै जाँदा सुरक्षित रहन सकिएला त ? प्रश्न उब्जाउँदै फर्किएँ ।
होइन कस्तो आयो यो कोरोना, मान्छेलाई एकत्रित हुन नदिने, बजारमा हल्ला फिँजाउने, कालोबजारी बढाउने, मजाक गर्ने, हाँस्ने, हँसाउने अनि रुवाउने, अत्याउने पनि ।यसकारणचाहिँ भानुचोक पुगेर मैले पनि भनें– आई अल्सो हेट यु कोरोना अर्थात् म पनि कोरोनालाई घृणा गर्छु । किनभने अहिले जताततै हौवा मात्रै फिँजिएको छ, मानिसहरू त्यही हौवाकै पछि छन् । यसतर्फ सचेतना जरुरी छ नै तर सर्वसाधारणको पनि सजगता जरुरी नै देखिन्छ । कोही कसैको हौवाको पछाडि नदगुरौं, सचेत बनौं ।
अर्को महत्वपूर्ण कुरा के हो भने यो कोरोना भाइरस खतरनाक छ । तर यसलाई जस्तो, जसरी र जुन तरिकाले हौवा फिँजाइनुचाहिँ गलत हो, सावधानीचाहिँ रहनुपर्छ नै । अहिले सामाजिक सञ्जाल हेरिसाध्य छैन । भाइरसबारे राम्रो कुरा पनि पोष्ट्याएको छ, नराम्रो कुरा पनि । कतिले ब्युटीपार्लरवालाले परै बसेर युवतीलाई सिङ्गारेको, कतिले श्रीमानले हाछ्युँ गर्दा श्रीमतीले लात्तले हान्दै घरको दैलो लगाएको भिडियो पनि हालेर मजाक मानिरहेका छन्, मजाक मानिरहेका छौं, हाँसिरहेका छौं, हँसाइरहेका छन्, हँसाइरहेका छौं । सामाजिक सञ्जालकै कुरा गर्ने हो भने अहिले कतिले त कोरोनालाई खिल्ली उडाउने, जिस्क्याउने पनि गरेको देख्न पाइयो । यस्तो खिल्ली उडाउनु, मजाक गर्नुभन्दा सजगता चाहिँ पक्कै अपनाउनुपर्छ, अन्यलाई पनि सजगता अपनाउने खालका राम्रा सामग्रीहरू सार्वजनिक गरिनुपर्छ । यसले पनि नेपालीलाई एक हुन सिकाउँछ ।
पोष्ट्याउँदा पनि सरल र नेपालीलाई सजग बन्ने खालका सामग्री पोष्ट्याउँदा राम्रो होला । कतिले पोष्ट्याउँछन् र प्रश्न पनि गर्छन्– साबुन पानीले हात धुनु रे, धरानमा खानेपानी त छैन, कसरी हात धुनु ? यस्ता गहन विषयलाई पनि उठाउँदा त राम्रै होला र स्थानीय सरकारको घैटोंमा घाम लाग्छ होला तर पानी नै छैन भन्दै हात नधुने बढे भने नि ?
सरकारका अनुसार कोरोना नेपाल प्रवेश गरेको छैन, किन अत्तालिने ? सजग बन्नैपर्छ । नजिकैको चीनमा फैलिएर पनि नियन्त्रणमा आइसकेको समाचार आइरहेका छन्, तर पनि नेपालमा जोखिम छ नै । कोरोना छिरेको हो भने लुकाइनु हुन्न पनि । कोरोनामाथि कहिल्यै, कसैले हेलचेक्रयाइँ गरिनु सबै नेपाली ठगिनु हो ।
अहिले यसैको सन्त्रासले धेरै नेपाली ठगिइरहेका छन् र ठगिरहनुपरेको छ । हामी यस्तै, यस्तै हल्लाले ठगिरहेका छौं । पेट्रोल पाइँदैन रे, ग्याँस पाइँदैन रे, चामल पाइँदैन रे, तरकारीको अभाव हुने रे, सबै नाका बन्द भयो रे । यसले व्यवसायीले खेल्ने मौका पाउँछन् भन्ने कुरा उपभोक्ता तथा आम सर्वसाधारणले बुझ्न आवश्यक छ । यसरी सर्वसाधारण ठग्न व्यवसायीलाई नदिऔं । हल्ला हल्लाकै भरमा नै बढी कृत्रिम अभाव सिर्जना हुन पुगेका समाचार पनि सार्वजनिक भइरहेका छन् । उनीहरू अहिलेको कोरोना भन्दा पनि खतरनाक भएर निस्किन सक्छन्, यसतर्फ सोंच्ने बेला हो यो, साथै सजगता पनि । अफवाहककै कारण उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना हु“दा त्यसलाई रोक्ने पहल थाल्न समेत आवश्यक छ । सरकारी निकायले पनि अनुगमनमा कडाइ गर्नु आजको आवश्यकता हो । त्यसैले कडाइका साथ अनुगमन गर्नु आजको आवश्यकता हो ।
भाइरसले महामारीको रूप लि“दै गएपछि त्रसित हुनु स्वभाविक हो । अहिले कोरोना भाइरसको त्रासले हल्लै हल्ला छ । हल्लाको पछि नलागौं, मनोबल उच्च बनाऔं, कालोबजारी रोक्न राज्य, उपभोक्ता सबै पक्ष सचेत बनौं । सङ्क्रमण फैलन नदिन सबैले मिलेर काम गरौं । सबै सचेत बन्नु आजको आवश्यकता हो । सङ्क्रमणबाट बच्न सावधानी अपनाउन तथा सङ्क्रमण भइहाले उपचारको पूर्व तयारी आवश्यक छ । त्यसैले स्वास्थ्य नै धन हो । सुरक्षितका उपायहरू अपनाइ आफू बचौं र अरूलाई पनि बचाऔंको सोचमा हामी अघि बढ्न नितान्त आवश्यक छ ।
धरानका डा. रमेश घिमिरेले फेसबुकमा पोष्ट्याए–कोरोनासम्बन्धी उच्च सतर्कताका लागि सरकारले जे गरेको छ र गर्दैछ त्यसप्रति जनतालाई सचेत गर्नोस् नयाँ सुझावहरू जनता नतर्सिने गरी दिनोस्, जनताको मनमा तनाव होइन, सतर्कता सिर्जना गर्ने काम गर्नु चाहिँ राम्रो होला । अहिले निकै ठूलठूला नै भनिने मानिसहरू पनि कोरोनाका बुइ चढेर जनमानमा कोरोनाभन्दा भयङ्कर सन्त्रास फैलाउँदैछन्, यो ठीक होइन । अहिले चाहिएको सन्त्रास होइन, सतर्कता हो अनि राजनीति होइन, सुरक्षा हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here