हल्लाको पछि नलागौं, मनोबल उच्च बनाऔं, कालोबजारी रोक्न राज्य, उपभोक्ता सबै पक्ष सचेत बनौं
चीनबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणले विश्व त्रसित छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै नेपालमा पनि यसको जोखिम र त्रास उत्तिकै छ । बजारमा कृत्रिम अभाव शुरू भइसकेको छ । हल्ला हल्लाकै भरमा नै बढी कृत्रिम अभाव सिर्जना हुन टेवा पुगेको निष्कर्ष सबैको छ । कोरोना सङ्क्रमण भित्रिन नदिनका लागि सबैले काम गर्नुपर्नेमा व्यवसायी यही मौकामा कसरी कृत्रिम अभाव सिर्जना गर्नुपर्ने हो भन्दै दौडिनु हाँस्यास्पदबाहेक केही होइन । तर उपभोक्ता पनि कृत्रिम अभाव हुने रहेछ भन्दै दौडिनु पनि हाँस्यास्पद नै हो ।
भाइरसले महामारीको रूप लिँदै गएपछि त्रसित हुनु स्वभाविक हो । अहिले धेरै मुलुकमा यो फैलिइपनि सकेको छ । कोरोना सङ्क्रमण विश्वभर फैलिँदा नेपालमा विभिन्न अफवाह समेत फैलिएका छन् । पेट्रोल, ग्याँस अभाव हुने रे, खाद्यान्न, नुन, तेल अभाव हुने रे आदि इत्यादि । यति भनेपछि उपभोक्ता पनि रातदिन खाइनखाइ नुनतेल, खाद्यान्न, ग्याँस, पेट्रोल आदिको जोहो गर्न दौडिरहेका छन् । सधैं एक सिलिन्डर बोकेर हिँड्ने उपभोक्ता चारवटासम्म स्टक राख्ने भन्दै बोकी हिँड्नु, एक बोरा चामल लैजाने उपभोक्ता पाँच बोरासम्म लैजाने, पाँच सयको पेट्रोल हाल्ने उपभोक्ता १२ सयको हाल्छन् अनि उल्टै जर्किन छ भने त्यसमा पनि भर्छन् अनि बजारमा कृत्रिम अभाव सिर्जना नभए के हुन्छ ?
सबै हल्ला हल्लाकै पछि दगुरिरहनु दुःखद् हो । नेपालमा समेत कोरोना सङ्क्रमण फैलनसक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा रहेको जनाएको छ । हाल सरकार र चिकित्सकले समेत नेपालमा सङ्क्रमण भित्रिसकेको छैन भनिरहँदा सतर्कता अपनाउनुपर्ने हामी किन त्रासमा दगुरिहेका छौं, यसतर्फ पनि सोच्ने कि । सरकारले कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर अत्यावश्यक कामबाहेक ठूला सभा सम्मेलन नगर्न तथा भीडभाडमा जाँदा सचेतना अपनाउन आग्रह गरेको हो नै । सङ्क्रमण फैलन नदिन सबैले मिलेर काम गर्नुपर्ने समयमा व्यापारी भने यस्तो मौका छोपेर दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरेको हुनाले पनि यस्तो समस्या आएकोचाहिँ पक्कै हो । खासमा उपभोक्ता त्रसित भएर आवश्यक भन्दा बढी खाद्य वस्तु खरिद गर्ने क्रम बढेकाले कालोबजारी मौलाउँदै गएको हो । सरकारी निकायले पनि अनुगमनमा कडाइ नगर्दा यस्तो समस्या आएको हो । फितलो अनुगमनले उपभोक्ता ठगिने क्रम बढ्दो छ । कडाइका साथ अनुगमन गर्नु आजको आवश्यकता हो ।
जताततै माक्सको अभाव देखाउनु अनि माक्स बरामद भइरहनु पनि बजारमा कृत्रिम अभाव सिर्जना गरेको पुष्टि हुन्छ ।त्यसैले हल्लाको पछि नलागौं, मनोबल उच्च बनाऔं, कालोबजारी रोक्न राज्य, उपभोक्ता सबै पक्ष सचेत बनौं । अहिले हल्लै हल्लामा ग्याँसको लाइन बस्नुपरेको छ, पेट्रोल, डिजलमा लाइन बस्नुपरेको छ, खाद्यान्न अभाव सिर्जना हुन थालेको छ । सङ्क्रमणबाट बच्न सावधानी अपनाउन तथा सङ्क्रमण भइहाले उपचारको पूर्व तयारी आवश्यक छ । अफवाहककै कारण उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना हुँदा त्यसलाई रोक्ने पहल थाल्न समेत आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here