हरेक शिक्षकले कक्षाकोठामा आफ्ना विद्यार्थीहरुलाई पढाउँछन्, बुझाउछन् र सम्झाउँछन् पनि । तर अधिकांश विद्यार्थीहरूले भने शिक्षकका ती सबै प्रयासहरूलाई निकम्मा बनाइ पठाउँछन् । यस्तो हुनुको मुख्य दोषी को ? के हामी शिक्षकले यो कुरा कहिल्यै विचार गरेका छौं ?
हरेक व्यक्तिको जन्म र बच्चापनको प्रक्रिया सम्भवतः एउटै हुन्छ । तर जवानीमा भने तिनीहरूको जीवनस्तर फरक फरक हुन्छ किन ? के कारणले हुन्छ ? उच्चस्तरको जीवनयापन लागि के गर्नुपर्छ ? हामीले विद्यार्थीलाई कहिल्यै सिकायौं ? कहिल्यै सोध्यौं ? खाली पढ, पढ शिक्षाको महत्व छ मात्र भनेर पुग्दैन ।
घण्टौं मोबाइल खेल्दा वा टिभी हेर्दा नलाग्ने अल्छी एकछिन किताब पढ्न बस्दा शुरू हुन थाल्छ । पक्कैपनि हामी शिक्षकले अनुभव गरेका त छौं । त्यसको शिकार सायद हामी पनि भएका छौं होला । अल्छी लाग्नुको पछाडिको कारण के हुन सक्छ ? हामीले विद्यार्थीहरूलाई भनेका छौं त ? यस्तो प्रकारको गलत बानीलाई किन छुटाउने ? यसका लागि के गर्नुपर्छ ? यस सम्बन्धमा उनीहरूलाई मन छुने गरी कहिल्यै सिकाएका छौं ? खाली पढ, पढ अन्यथा दुःख पाइन्छ भन्दैमा मात्र उनीहरू पढ्न बस्लान् त ?
हो, पढाइ आफैमा दिक्दारी प्रकृतिको हुन्छ । यसको लागि हरेक शिक्षकले पढाइमा मनोरञ्जनात्मक रस वा मज्जा भर्न सक्नुपर्छ अर्थात् पढाइमा मनोरञ्जनात्मक रस भर्ने उपायहरूको बारेमा विद्यार्थीहरूलाई सिकाउन सक्नुपर्छ । जबसम्म विद्यार्थीहरूलाई किन पढ्ने ? के का लागि पढ्ने ? भन्ने कारण पहिचान गराउन सकिन्न तबसम्म उनीहरू पढाइ लेखाइप्रति विल्कुलै इमान्दार बन्न सक्दैनन् र रुचि पनि सिर्जना गर्दैनन् अनि शिक्षकले पढाएका विषयवस्तुमा ध्यान पनि दिँदैनन् । 
हरेक काम गर्नुको पछाडि स्पष्ट कारण चाहिन्छ भने झैं पढ्नुको कारण वा उद्देश्य के हो ? तिमी किन र के का लागि पढ्ने ? जे का लागि पढ्ने हो त्यो कहिले प्राप्त गरिसक्ने ? त्यसका लागि के कस्ता कार्यहरू गर्ने ? यस सम्बन्धमा हरेक विद्यार्थी स्पष्ट हुनु नितान्त जरुरी छ । किनभने कुनै पनि व्यक्तिलाई उसको स्पष्ट उद्देश्यले नै काम गर्न हरदम हरपल निर्देशित गर्दछ । अनावश्यक कार्य गर्नबाट विस्तारै विस्तारै विकर्षण गर्दै अर्थात् छुटाउँदै लैजान्छ । आफ्नो कार्य गर्नमा आत्म उत्प्रेरित गरिरहन्छ । जसले व्यक्तिलाई उसको कार्यमा एक प्रकारको मनोरञ्जन प्रदान गर्न थाल्छ र ऊ खुशी महसुस गर्दछ ।
हामी शिक्षकले विद्यार्थीहरूको बाल मनोविज्ञान बुझ्दै उनीहरूको अन्तर मनको इच्छालाई समाजको आवश्यकतासँग जोडेर पनि पढाइप्रति रुचि जागृत गराउन सकिन्छ । हामीले प्रदान गर्ने यस्तो प्रकारको विश्वासिलो शैक्षिक वातावरणले उनीहरूलाई पढाइप्रति जबरजस्त आकर्षित गर्दछ र आफ्नो इच्छालाई लक्ष्यमा बदल्न मानसिकरूपले तयार पनि पार्दछ ।
विद्यार्थीको हकमा पढ्नुको कारण भनेको उसको स्पष्ट लक्ष्य नै हो । उक्त स्पष्ट लक्ष्य प्राप्ति उसको जीवनको प्रमुख सपना हो । हामी के कुरामा छर्लङ्ग हुनुपर्छ भने लक्ष्यको महत्वको आधारमा नै शिक्षाको महत्व निर्धारण हुन्छ । उदाहरणको रूपमा शिक्षा भनेको पानी हो भने लक्ष्य भनेको व्यक्तिमा लाग्ने तिर्खा हो । तिर्खा नलागुन्जेलसम्म पानीको महत्व नहुन सक्छ । त्यसैले उत्प्रेरणाद्वारा तिर्खा जगाउन सक्नु शरीरको लागि महानता हो । यसलाई हृदयङ्गम गर्दै हामी हरेक शिक्षकले विद्यार्थीहरूलाई शिक्षाको महत्वमा केन्द्रित हुनुभन्दा उसको लक्ष्यको महत्व स्पष्ट पार्न सक्नुपर्छ ।
यहाँ प्रश्न के उठ्छ भने लक्ष्य नै सबथोक हो ? विल्कुलै होइन । लक्ष्यले केवल व्यक्तिलाई जोश–जाँगर मात्र प्रदान एक महत्वपूर्ण शक्ति हो । यसले मात्र सफलता प्राप्तिको ग्यारेण्टी भने नदिन सक्छ । त्यसैले लक्ष्य पूरा गर्न स्पष्ट योजना, योजना कार्यान्वयनका लागि सफल कार्य प्रक्रि या र उच्च मनोवृत्ति अनिवार्य हुनुपर्छ । जुन कुरा हरेक शिक्षकले विद्यार्थीहरूलाई सिकाउन सक्नुपर्छ ।
व्यक्तिगत विभिन्नतालाई मध्ये नजर गर्दै विद्यार्थीहरूलाई पढाइप्रति रुचि बढाउँदै सिकाइ प्रभावकारिता अभिवृद्धि गर्नका लागि निश्चित गतिशील प्रणालीको विकास गर्दै प्रजातान्त्रिक बाल केन्द्रित शिक्षण विधिको प्रयोग अनिवार्य गर्नुपर्छ । समतामूलक शिक्षाको अपरिहार्यतालाई आत्मसाथ गर्दै विषयवस्तु बुझे नबुझेका विद्यार्थीहरूलाई समावेश गर्दै अलग अलग समूह निर्माण गरी बुझेका विद्यार्थीद्वारा नबुझेका विद्यार्थीहरूलाई सिकाउन लगाउन सकेको खण्डमा पनि पढाइप्रति रुचि जगाउन र शैक्षिक गुणस्तर बढाउन सकिन्छ । यसले उनीहरूमा रट्ने होइन बुझ्ने र बोध गर्ने बानीको विकास हुन जान्छ । अन्ततः उनीहरू स्वतस् स्फूर्त रुपमा कर्तव्यनिष्ट भइ निरन्तरूपमा पढ्न तयार हुन्छन् । लेखक धरानका स्कुल, कलेजका अध्यापक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here