धरानमा प्रदर्शन भएको ‘बसाई’ नाटक प्रदर्शनका अवसरमा अभिनय गर्दै कलाकार ।

धरानः धरानमा नाटकघर निर्माणमा अदृश्य शक्तिको चलखेल भएको भन्दै धरानका नयाँ पुराना रङ्गकर्मी नाटकघर बनाउनैपर्ने भन्दै लागिपरेका छन् ।
कलाकार प्रेम सुब्बाको संयोजकत्वमा निर्माण पहल समिति गठन गरेर नाटकघर बनाउनैपर्छ भनेर लागिपरेको हो । ‘धरानमा नाटकघर बन्नुपर्छ भनेर सबै पोजेटिभ छौं’, सचिव अरूणकुमार प्रधानले भने, ‘तर अदृश्य शक्तिको चलखेल भएपछि दबाव सिर्जनाका लागि आज सबै कलाकार, रङ्गकर्मीको भेला डाकेर धरान उपमहानगरपालिकामा धरानमा नाटकघर बन्नुपर्छ भन्ने माग राख्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।’
उनले धरानमा नाटकघर बन्नुपर्छ भनेर निर्माण उपभोक्ता समिति पनि गठन गरेर अधिकांश प्रक्रिया पूरा गरिसकेको बताए । ‘हामीले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका छौं तर पनि नाटकघर बन्ने हो वा नबन्ने हो अन्यौलजस्तै देख्यौं, त्यही भएर दबाव दिने उद्देश्यले यस्तो कार्यक्रम गर्न लागेका हौं ।’ उनले भने । सर्वदलीय बैठकको माग गर्ने, नाटकघर सभागृहको खाली जग्गामा बन्नुपर्नेलगायतका माग राख्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उनले जानकारी दिए ।
सभागृहको कुनामा करिब दुई कट्ठा खाली छ, त्यही जग्गामा नाटकघर बनाउने भनेर एक किसिमको सहमति पनि भइसकेको तर अदृश्य शक्तिकै कारण रोकिन गएको रङ्गकर्मीहरू बताउँछन् ।
सुनसरी १ नं. क्षेत्रका सांसद जयकुमार राईले सांसद विकास कोषबाट नाटकघर निर्माणको लागि ४० लाख रुपैयाँ विनोयजन गरिसकेको र नाटकघर निर्माणको निम्ति धरानका सम्पूर्ण नाट्य संस्थाका प्रतिनिधित्व गराएर अग्रज रङ्गकर्मी समेत रहेका कलाकार प्रेमको संयोजकमा पहल समिति गठन गरिएको उनले बताए ।
‘४० लाख विनियोजन भइसकेपछि समर्थन जुटायौं’, उनले थपे, ‘क्रमागतरूपले नाटकघर निर्माण कार्यको निम्ति प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, नेकपा नगर कमिटी अध्यक्ष नारायण सुवेदी, धरान वडा नं. ८ का वडा समितिका पदाधिकारीसँग बसेर सहमती जुटाएर सकारात्मक प्रक्रिया अगाडि बढाउने काम पनि भइसकेको छ तर अहिले आएर अदृश्य शक्ति लागेको छ, विरोध भइरहेको छ भनेर केही लागेको हुनाले सर्वदलीय बैठक डाकियोस्, सभागृहछेऊमै नाटकघर बनाउन पहल होस् भनेर आज (मङ्गलबार) १० बजे उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेका हौं ।’ उनले भने ।
धरानको ऐतिहासिक नाटकघर निर्माण कार्यमा बाधा र अड्चन नआओस् र धरानको सम्पूर्ण कलाप्रेमीको हक र अधिकारको मुद्दा भएकोले सम्बन्धित निकायमा नैतिक दबाब दिनलाई सबै श्रष्टालाई उपस्थितिको लागि अनुरोधपत्र दिइसकेको सचिव श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here