धरानः हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल २०२० को खोजी गर्न पूर्व मिस नेपाल निकिता चन्दक र मिस नेपाल अर्थ विजेता रिया बस्नेतको टोली धरानका कलेज पुगेका छन् ।
धरानको युएन कलेज र धरान सिटी कलेजमा पुगेर अन्तरक्रिया साथै सुझाव पस्किँदै मिस नेपाल प्रतियोगितामा सहभागी हुन विद्यार्थीलाई आह्वान गरे । धरान सिटी कलेजका पूर्व प्रमुख विशाल श्रेष्ठलगायतले उनीहरूलाई स्वागत गरेका थिए । त्यस्तै, युएन कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगन श्रेष्ठलगायतले कलेजमा स्वागत गरेका थिए ।
युएन कलेजमा आयोजित कार्यक्रममा बोल्दै पूर्व मिस नेपाल चन्दकले व्यक्तित्व विकासका लागि यस्तो प्रतियोगिताले सहयोग गर्ने बताइन् । कार्यक्रममा बोल्दै मिस नेपाल अर्थ बस्नेतले बोल्न पनि नसक्ने आफू प्रतियोगितामा सहभागिता जनाएर निर्धक्क साथ बोल्ने साथै अन्य व्यक्तित्वको पनि विकास भएको बताइन् ।
पूर्वको अडिसनअन्तर्गत धरानमा मङ्गलबार अडिसन हुने सिल्भर इन्टरटेण्टमेन्टका सौरभ श्रेष्ठले जानकारी दिए । अडिसनपूर्व आयोजकले धरानका कलेजभरी विभिन्न कार्यक्रम पनि आयोजना गरेको हो । भोलि (मङ्गलबार) धरान मोडल कलेजलगायत अन्य कलेजको भ्रमण आयोजना गरिएको उनले जानकारी दिए । अडिसन भने मङ्गलबार धरानस्थित गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा हुने आयोजकले जनाएको छ । मिस नेपाल नेपालकै ठूलो सौन्दर्य प्रतियोगिताका रूपमा लिइन्छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here