धरानः अहिले धरानलगायत देशभर नै दबाबका बीच विद्यालयहरूले वार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।
अधिकांश विद्यालयले शनिबार पनि परीक्षा सञ्चालन गरिरहेका छन् । कोरोना भाइरसको विश्वव्यापी प्रकोपले शिक्षा क्षेत्रमा प्रतिकूल प्रभाव पर्न गएको छ । एकातिर संसददेखि सडकसम्म केही समयका लागि परीक्षा स्थगित गरी विद्यालय तथा विश्वविद्यालय बन्द गर्नुपर्ने आवाज उठिरहेको छ भने अर्कोतिर विद्यालयले दबाबमा परेर वार्षिक परीक्षा सञ्चालन गरिरहेका छन् ।
केही विद्यालयले त दैनिक दुई तीन विषयको वार्षिक परीक्षा लिइरहेका छन् । अधिकांश विद्यालयले शनिबार पनि परीक्षा सञ्चालन गरेका छन् । साना कक्षादेखि माथिल्ला कक्षा सबैको परीक्षा दबाबमा परेर विद्यालयले सञ्चालन गरिरहेका छन् । विद्यालयलाई परीक्षा व्यवस्थापन तथा सञ्चालन गर्नमा नै समस्या देखियो ।
‘हतार हतार भयो, न विद्यार्थीले पढ्न पाए, न विद्यालय प्रशासनले नै परीक्षाको तयारी राम्ररी गर्न पायो, तनावका बीच परीक्षा भइरहेको छ’, धरान–१२ स्थित सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलनकुमार राईले भने, ‘यसले नुन नपुगेको जस्तो पनि लागिरहेको छ ।’
अभिभावकले पनि कतिबेला परीक्षा सकिन्छ र घरमा नानीहरू च्याप्प समातेर राखिरहौं भन्ने अवस्थामा छन् । ‘सबैले कोरोना कोरोना भन्छन्, त्रासले गर्दा कतिबेला परीक्षा सकिएला भन्ने पो लागिरहेको छ’, धरान–१६ की अभिभावक जुनु श्रेष्ठले भनिन्, ‘परीक्षा सकिनेवित्तिकै नानीहरू घरमा भएपछि त ढुक्क भयो नि ।’
कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण आसन्न एसइई परीक्षा सञ्चालन गर्ने कि स्थगित गर्ने भन्ने बहस यो हप्ता पनि जस्ताको त्यस्तै छ । एसइई स्थगित गर्ने हो भने पुनः सञ्चालन तथा व्यवस्थापन गर्दा एउटा शैक्षिक सत्र त्यसै खेर गई राज्यलाई आर्थिक क्षति हुने शिक्षाविद्हरू बताउँछन् ।
यस्तै अवस्थालाई ख्याल गरेर डब्ल्यूएचओले विश्वभरका विद्यालय, उद्योग कल–कारखानालगायत भीडभाड हुने स्थानमा आवत–जावत बन्द गर्न र सबै जनतालाई सावधानी अपनाउन निर्देशन दिइसकेको छ । तर, हामी भने परीक्षा तालिका सार्वजनिक गरेर बसेका छौं ।
यही चैत ५ गतेदेखि सञ्चालन हुने एसइई परीक्षामा स्वास्थ्य डेक्स राख्ने कुरो त गरिएको छ, तर त्यसलाई पर्याप्त मान्न सकिन्न । उता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ गतेसम्म सबै प्रकारका परीक्षा सकेर बिदा दिन निर्देशन दिइसकेको छ । तर, विद्यालयदेखि विश्वविद्यालय तहसम्मको परीक्षामा सहभागी विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरको विषयमा सोचेको पाइँदैन ।
सबै निकायले परीक्षाको कार्यतालिका सार्वजनिक गरिसकेका छन् । यस्तो विषम परिस्थितिमा परीक्षामा सहभागी विद्यार्थीलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउने विषयमा ध्यान दिएको पाइँदैन । विद्यालय तहको परीक्षा सकेर बिदा दिने तयारी गरेको सरकारले अहिलेको परिस्थितिमा एसइई परीक्षामा पर्न सक्ने असरबारे सूक्ष्म अध्ययन गर्नु आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here