डिवी श्रेष्ठ
व्यक्तिहरुसँग गरिने समान व्यवहार र प्रदान गरिने समान अवसरको अवस्थालाई समानता भनिन्छ भने आवश्यकताको सिद्धान्तअनुसार उनीहरूको हित अनुकुल हुने गरी प्रदर्शन गरिने घटी वा बढी व्यवहार अर्थात् उनीहरूको क्षमतालाई मध्ये नजर गर्दै आवश्यकता अनुसार देखाइने व्यवहारलाई समता भनिन्छ । यसलाई अर्को शब्दमा निष्पक्षता पनि भनिन्छ ।
समानता अर्थात् समान अवसर प्रदान गर्नु आफैमा राम्रो पक्ष हो तर हाम्रो संविधानमा लेखिने र बोलिने समानता केवल काल्पनिक समानता मात्र हो । जसको आधारमा व्यक्तिले आफ्नो जीवनमा व्यवहारिक समानता भने महसुस गर्न सक्दैन । शिक्षाको नाममा हुने समानताले समाजमा विद्यमान उल्झनलाई झन् बढाउँछ । त्यसैले सामाजिक न्यायिक सिद्धान्त अनुसार सुसंस्कृत र समृद्ध समाज निर्माण गर्ने हो भने समता पनि अनिवार्य हुनुपर्छ ।
समतामूलक शिक्षाले विद्यार्थीमाथि गरिने व्यवहारमा फरकपना ल्याएता पनि भेदभाव भने विल्कुलै गर्दैन । यसले समाजमा रहेका व्यक्तिहरूमा देखिने भिन्नताको दुरी घटाउन र हटाउन अधिकतम मद्दत गर्छ । समानताको नामबाट हुने क्रियाकलापले अघोषितरूपमा विभेदकारी मार्ग समातेको देखिन्छ साथै विद्यार्थी–विद्यार्थी, शिक्षक–विद्यार्थीबीचको दुरी पनि बढाएर लैजान्छ ।
शिक्षामा पनि समताको महत्व दिन प्रतिदिन बढ्दै गएको छ । समान अवसर र समान व्यवहारले मात्र शिक्षाको गुणस्तर बढाउनु सकिन्न भन्ने कुरालाई आत्मसाथ गर्दै शिक्षाविद् एकेसी ओटावेले आफ्नो पुस्तक ‘शिक्षा र समाज’ मा समता अर्थात् निष्पक्षताको महत्व उल्लेख गरेका छन् । अमेरिकी मनोवैज्ञानिक तथा प्रगतिवादी दार्श्निक जोन डीवेका अनुसार विद्यालय भनेको सामाजिक प्रयोगशाला हो । जसले भोलिका समाज गतिशील बनाइराख्न, सिर्जनशील कर्णधारहरू उत्पादन गर्न अहम् भूमिका निर्वाह गर्दछ । त्यसैले विद्यालयले आफ्नो ओजनदार र अतुलनीय भूमिकालाई आत्मसात गर्दै शिक्षामा समतामूलक समानता प्रदान गर्नु पर्ने कर्तव्य कहिल्यै बिर्सिनु हुँदैन ।
आजका समाजका अधिकांश नागरिक हिजोका विद्यार्थीहरू नै थिए । उनीहरूले आर्जित गरेको ज्ञान र मनोवृत्तिअनुसार नै समाज तथा आफ्ना परिवारका सदस्यहरूसँग व्यवहार गर्ने गर्दछ । हामीले समाजमा देखेको आजको सामाजिक स्थिति वा परिणाम वा परिवर्तनको मुख्य श्रेय भने हिजोका दिनमा शिक्षा र संस्कार प्रदान गर्ने शिक्षालयहरूलाई नै जाने गर्दछ । तसर्थ आजको शिक्षालयले कस्तो शिक्षा दिने कुरा महत्वपूर्ण हुन जान्छ । विद्यार्थीको फरक पृष्ठभूमि र व्यक्तिगत विभिन्नताको कारणले गर्दा उनीहरूमा ग्रहण गर्ने क्षमता पनि फरक फरक रहेको हुन्छ । समतामूलक शिक्षाले त्यस्तो प्रकारको शैक्षिक अन्तर र शैक्षिक सङ्कटलाई अधिकतम न्यूनीकरण गर्न सहयोग गर्दछ । यसले विद्यार्थीहरूमा शैक्षिक अभिरुचि र गतिलो सामाजिकीकरणको भावना पनि अभिवृद्धि गर्न पनि मद्दत गर्दछ ।
कुनैपनि आमाले नराम्रो क्रियाकलाप गर्ने जन्माउँदैनन् । चोर, अपराधी पनि जन्माउँदैनन्, मात्र परिस्थितिले उसको सन्तानलाई त्यस्तो बनाउन सक्छ । त्यसैले यस्तो प्रकारको विषजन्य परिस्थिति न्यूनीकरण गर्दै निमिट्यान्न पार्न, अन्तर मनबाटै शान्ति स्थापना गर्न, शिक्षामा समग्र गुणस्तरीय व्यवस्थापन कायम राख्न पनि समानतासहितको समतामूलक शिक्षा आजको समाजको अनिवार्य आवश्यकता बनिसकेको छ । जुनकुरा राज्य तथा यसका हरेक शिक्षालयले बुझ्नु नितान्त जरुरी छ । विशेषतः कमजोर विद्यार्थीको हकमा गुणात्मक शिक्षा अभिवृद्धिका लागि उनीहरूमा समताको आवश्यकता पर्दछ । उनीहरूलाई राज्य तथा विद्यालयस्तरबाट विशेष प्रकारको शैक्षिक कार्यक्रम प्रदान गर्नुपर्दछ ।
समानतासहितको समतामूलक शैक्षिक वातावरण सिर्जना गर्ने शिक्षक अनिवार्यरूपले असल, अनुभवी, दुरदर्शी र तालिम प्राप्त हुनुपर्दछ । त्यसैले हरेक विद्यालयले आफ्ना शिक्षकहरूको कार्य क्षमता अभिवृद्धि गर्न र समतामूलक कक्षा वातावरण सिर्जना गर्न शिक्षक तालिम कार्यक्रम नियमित सञ्चालन गर्नुपर्छ ।
शिक्षा नीति निर्माण गर्ने राज्य तथा त्यसको कार्यान्वयन गर्ने शिक्षालय,व्यवस्थापक लगायत शिक्षकहरुले के बुझ्नु जरुरी छ भने विद्यालय भनेको शिक्षाको माध्यमबाट सामाजिक न्याय प्रवद्र्धन गर्ने थलो पनि हो । त्यसैले भोलिको समाज कस्तो बनाउने ? विद्यार्थी सिकाइ अनुभवको संवेदनशीलतालाई कतिसम्म ध्यान दिने ? जस्ता कुराहरूमा एकपटक अवश्य विचार गर्नैपर्छ । अन्त्यमा भन्नुपर्दा समानता आफैमा नराम्रो चिज होइन तर मात्र के हो भने समानताबाट चाहेको उत्कृष्टता प्राप्त गर्न धेरै मुस्किल हुन्छ । त्यसैले शिक्षामा समता आवश्यक छ । यसले प्रभावकारी शिक्षण सिकाइका लागि बाल मनोविज्ञानलाई महत्व दिन्छ । बाल केन्द्रित शिक्षण बिधिको प्रयोगलाई जोड दिन्छ । यसलाई अझ स्पष्टरूपमा भन्नुपर्दा शिक्षामा समानताले विद्यार्थीहरूलाई समान अवसर प्रदान गर्दछ भने समताले सबै विद्यार्थीहरूको क्षमता उकास्दै समान परिणाम निकाल्न सहयोग गर्दछ । जुन कुरा हरेक शिक्षालय लगायत सबै सरोकारवाला पक्षहरूले बुझ्नु जरुरी छ ।
लेखक श्रेष्ठ धरानका स्कुल कलेजका अध्यापक हुनुहुन्छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here