कृष्ण फुयाँल, अध्यक्ष
फुटवेयर म्यानिफ्याक्टर एशोसिएसन
धरान नै मेलाको लागि किन छान्नुभयो ?
विराटनगरमा पनि मेला सफलतापूर्वक सम्पन्न भइसकेको छ । धरानमा पनि हाम्रो चाहना थियो, हामी आउन चाहिरहेका थियौं र यहाँका बासिन्दाले पनि स्वदेशी उत्पादन प्रवद्र्धन होस्, धरानेले पनि स्वदेशी जुत्ता–चप्पल लगाउन पाउन् भन्ने थियो, त्यही भएर धरान नै हामीले छानेर आयौं । यो मेला चैत १० गतेसम्म नै सञ्चालन हुनेछ ।
यो मेलामा कुन कुन ब्राण्डका जुत्ता–चप्पल पाइन्छ ?
यो मेलामा एउटै छानामुनी सरल मूल्यमा ९ वटा कम्पनीका जुत्ता–चप्पल पाइन्छ । गोल्डस्टार, शिखर बिएफविएफ हिल, क्रसरोड, कोसेली, हाइलाइफ, सुल्याण्ड, ल्याण्ड वाक, हाइलाइफ, विएफडी आर हिललगायतका जुत्ता–चप्पलका ब्राण्ड हामीले ल्याएका छौं ।
अहिलेसम्मको अवस्था हेर्दा कस्तो पाउनुभयो ?
ठीकै छ । धरानमा पनि स्वदेशी जुत्ता–चप्पल प्रयोग गर्नुपर्नेरहेछ । खप्ने, टिकाउ, भरपर्दो स्वदेशी नै ब्राण्ड हो भन्ने कन्फर्म भइसकेको अवस्था छ ।
किन लाग्यो यस्तो मेला ?
‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा नै हामीले तय गरेका छौं । यही नाराका साथ यस्तो मेला लगाएर स्वदेशी सामग्रीको प्रचारप्रसार र प्रवद्र्धन गर्नु पनि मेलाको उद्देश्य हो । अहिले धरानेले नेपाल अब जुत्ता–चप्पलमा निर्भर हुन थालेछ, यतिका बलियो र राम्रा जुत्ता पनि बनाउन थालिएछ भन्ने सङ्केत गरिदिँदा पनि खुशी लाग्छ । धरानेले हामीले उत्पादन गरेका सामग्री हेरिसकेपछि वाह नेपालमा पनि यति राम्रा जुत्ता–चप्पल बन्न थालिसके भन्दा हामीलाई थप उर्जा मिल्दै गएको छ ।
मेलामा उपभोक्तालाई के फाइदा ?
हाम्रो प्रदर्शनीसँगै व्यापार पनि गर्ने उद्देश्य हो । मेलामा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ । मेलामा नेपालमै उत्पादित विभिन्न मोडलका जुत्ता–चप्पल राखिएको छ । धराने फेसनेबल सहर हो भन्ने हामीले बुझेका छौं, फेसनेबल जुत्तादेखि स्कुले विद्यार्थीका लागि चाहिने सबै प्रकारका जुत्ता–चप्पल, युवा, वृद्धवृद्धा सबैलाई फिट हुने प्रकारका जुत्ता–चप्पल व्यवस्था गरेका छौं । हामीले जुत्ता–चप्पलमा बिक्री गरिसकेपछि ६ महिनाको वारेन्टी पनि दिइसकेका छौं । ६ महिनाअघि केही भइहाले पनि हामी अर्को जुत्ता फेरिदिन्छौं । यो हामीले उपभोक्तालाई दिएको विश्वास हो । धेरैजसो दिइने छुट स्टलमै खुलाइएको छ । यसले उपभोक्तालाई सहज हुनेछ ।
अन्त्यमा के भन्नुहुन्छ ?
निर्धक्कसँगै स्वेदशी ब्राण्ड, स्वदेशी उत्पादन प्रयोग गरौं । कमसल खालका जुत्ता–चप्पल ल्याएर यहाँका उपभोक्तालाई झुक्याएर वा कमसल खालका जुत्ता–चप्पल बिक्री गरेर इमेज बिगार्नु छैन । हामीले जुन लक्ष्य लिएका छौं, त्यो लक्ष्यमै पुग्न हामी आएका हौं । उपभोक्तालाई सन्तुष्ट बनाउने काम हाम्रो हो, हामीले गुणस्तरीय वस्तु उत्पादन गरेका छौं । हामीले आफूले उत्पादन गरेका सामग्रीको प्रवद्र्धन मात्रै नभएर राज्यलाई हरेक क्षेत्रमा सहयोग हुन्छ, रोजगारी सिर्जना हुन्छ भन्ने हामीले ठानेका छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here