धरानः नृत्यका पारखीहरूका लागि लोकप्रिय बनेकी रोमा न्यौपानेले धरानमा एक खुट्टाले नाचेरै मनोरञ्जन प्रदान गरेकी छिन् ।
मेरो दुईवटा डान्स छ, एउटा महिला दिदी बहिनीहरूका लागि, अर्को हेन्डसमका लागि भन्दै स्टेजमा देखा परेकी उनले प्रमुख जिल्ला अधिकारी, आयोजकका पदाधिकारी, धरानका मेयर, दर्शकलाई खुब हँसाइन् पनि ।
मौलिक नेपाली गीतदेखि अत्याधुनिक गीतसम्ममा उत्तिकै कम्मर मच्चाएर दर्शकलाई लट्ठ पार्न सक्ने क्षमता बोकेकी उनले अभिनयमा पनि उत्तिकै पारङ्गत छिन् । स्टेजमै सुनाइन्–म फिल्ममा अभिनय समेत गर्दैछु ।
उनी एउटा मात्र खुट्टाको सहाराले नृत्य गर्छिन् । रोमाको नृत्य हेर्ने जो कोही पनि उनको प्रशंसक नबनी सुखै पाउँदैन । उनी नृत्यमार्फत रोमाञ्चकता पैदा गर्न समेत सिपालु छिन् ।
उनले स्टेजमै आप्mनो कथाव्यथा पनि सुनाइन् । रोमालाई उनी करिब ८ वर्षको छँदा इटहरीमा विद्यालय जाने क्रममा एउटा जिपले ठक्कर दिएको थियो । वीभत्स दुर्घटनामा रोमाले एउटा खुट्टा गुमाउनुपरेको कुरा पछि थाहा पाएको बताइन्।
एउटा खुट्टा नभए पनि उनले आफूलाई कोठाभित्र सीमित गर्न चाहिनन् । अथक प्रयास गरेर नृत्य प्रशिक्षण लिन थालिन् । एउटा खुट्टाले मात्र आकर्षक नृत्य प्रस्तुत गर्न थालेपछि उनी काठमाडौंसहित नेपालका विभिन्न सहरहरू पुगिन् रे । स्टेजमै पनि भनिन्– म अहिले व्यस्त छु । उनले धरानेलाई भनिन्– आइलभ यु भन्छु है धराने केटाहरू, कोही छ, म नाचेरै पाल्छु । उनले धेरै देश पुगेर आफ्नो प्रतिभा देखाइसकेको बताउँछिन् ।
रोमाले व्यवसायिक नृत्यको पहिलो प्रस्तुति २०६० सालको भदौमा प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक समारोहमा दिएको बताइन् । त्यसयता उनले स्वदेश तथा विदेशमा गरी करिब ९ सयभन्दा बढी स्टेज कार्यक्रममा आफ्नो नृत्य प्रस्तुत गरिसकेकी छिन् । ‘केही समयअघिसम्म मलाई सबैले सहानुभूतिका नजरले हेर्छन् जस्तो लाग्थ्यो,’ रोमाका अनुसार अचेल उनलाई सबल कलाकारका रूपमा चिन्न थालिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here